पदम निरौलाको ‘केही मिठो तिरस्कार देउ’ बजारमा आएको छ । युट्युवमा ओआरएस डिजिटलबाट गीत सार्वजनिक भएको हो । निरौलाले शब्द लेखेको यस गीतमा सञ्जीव भुर्तेलले स्वर दिनुभएको छ । भुर्तेल अटो चालक हुनुहुन्छ । सानैबाट गीत गाउने रुचि राख्ने भुर्तेलले परिवारको आर्थिक अवस्था कमजोर हुँदा गीत सङ्गीतमै लागेर नियमित काम गर्नु सक्नुभएको छैन । स्वर राम्रो भए पनि घरको हालत राम्रो नहुँदा अटो चलाएर गुजारा गरिरहेको उहाँ बताउनुहुन्छ । २०४६ भदौ १८ गते जन्मिनुभएका झापा बिर्तामोडका भुर्तेल थाहा पाउने भएदेखि नै गीत गाइरहनुभएको छ ।
आमाको प्रेरणाले नै आफूले गीत गाउने गरेको उहाँको भनाई छ । ‘मेरी आमाको स्वर निकै राम्रो छ, म पेटमा छदा आमाले एक प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गर्नुभएको थियो रे, त्यसैले पनि होला मलाई बच्चै देखि गाउन मन पर्छ ।’ भुर्तेलले १२ कक्षा पास गर्नुभएका गर्नुका साथै झापाको बिर्तामोडमा रहेको सरगम संगितालयमा सङ्गीत समेत अध्ययन गर्नुभएको छ । ‘मलाई सङ्गीत सिकाउन सक्ने मेरो परिवारको स्थिति नभएर आफैँले पत्रीका बेचेर सङ्गीत सिकेको हुँ, साँच्चै भन्ने हो भने बिहान बेलुका के खाने भन्ने स्थिति भएर पनि होला मेरो परिवारले मेरो रहर पुरा गर्न सक्नुभएन ।’
उहाँले विभिन्न ठाउँमा भएका प्रतियोगितामा भाग लिनुका साथै स्थान समेत हासिल गर्नुभएको छ । ‘२२ वटा विद्यालय स्तरीय प्रतियोगितामा १३ वर्षको उमेरमा प्रथम भएको छु, दीपक रायमाझी सरद्वारा सङ्गीतको सा रे ग म सुरु गरेको मैले बच्चै देखि सानातिना कार्यक्रमहरूमा प्रथम स्थान हासिल गरेको छु, १९ वर्षको उमेरमा भ्वाइस अफ टिनमा टप १६ मा पुग्न सफल भएको थिए र भर्खरै २०८० अर्जुनधारा गायन तथा नृत्य प्रतियोगिताको गायन तर्फ प्रथम भएको छु र बहुभाषिक आइडलमा सेकेन्ड रनर अप भएको छु उहाँले भन्नुभयो ।’
उहाँले केही गीत र भजन समेत गाउनुभएको छ । कसैको साथ र सहयोग पाएमा सङ्गीत क्षेत्रमा अझ धेरै काम गर्ने धोको भुर्तेलको छ । पछिल्लो पटक उहाँले पदम निरौला, उमेश पौडेल लगायतको सहयोगमा ‘केही मिठो तिरस्कार देउ’ मा स्वर दिन पाएको बताउनुभएको छ । उक्त गीतको निर्देशन उमेश पौडेलले गर्नुभएको हो । यस गीतको म्युजिक भिडिओमा सन्देश बाराकोटी, सवनम लिम्बु र अस्मिता ओली लगायत फिर्चड छन् । गीत माया प्रेमसँग सम्बन्धित छ ।