Kakhara सबैको खबर सम्पूर्ण खबर
‘जिल्लाको समग्र शैक्षिक आन्दोलनको नेतृत्व गर्ने गरी काम गर्छौँ’ 

अखिल क्रान्तिकारी रुकुम पश्चिमलाई हाँक्ने जिम्मेवारी निराजन केसीको काँधमा आइपुगेको छ । सदरमुकाम मुसिकोटमा शुक्रबार र शनिवार सञ्चालन भएको सङ्गठनको २७ औँ जिल्ला सम्मेलनबाट केसी अध्यक्षमा निर्वाचित हुनुभयो । प्रतिद्धन्दि विशाल विष्ट र खुमराज ओलीलाई पराजित गर्दै केसी अखिल क्रान्तिकारी रुकुम पश्चिमको २७ औँ जिल्ला अध्यक्ष बन्न सफल हुनुभएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० भलाक्चामा २०५६ साल माघ १५ गते जन्मिनुभएका केसीले शीतल क्याम्पस चौरजहारीबाट यसै वर्ष बि एड तहको पढाई पुरा गर्नुभएको छ । उहाँले प्राविधिक धारबाट २०७१ सालमा शीतल मावि चौरजहारीबाटै एसइई उत्तीर्ण गर्नुभएको थियो । कक्षा ९ देखि १२ सम्म उहाँले सब इन्जिनियरको पढाई सकाउनुभयो । बुवा गणेश खत्री र आमा कुमारी खत्रीको चौथो सन्तानका रूपमा उहाँको जन्म भएको थियो । उहाँ ४ दाजुभाइ मध्ये साइँलो हुनुहुन्छ । उहाँकी एक दिदी हुनुहुन्छ । केसी हाल स्वतन्त्र विद्यार्थी युनियन शीतल क्याम्पसको अध्यक्ष हुनुहुन्छ भने क्रान्तिकारी स्ववियु काउन्सिलको केन्द्रीय सह संयोजकको जिम्मेवारी समेत सम्हालिरहनुभएको छ ।

केसी अखिल क्रान्तिकारीमा २०७० सालमा सङ्गठित हुनुभएको थियो । त्यति बेला शीतल माविमा कक्षा ९ मा अध्ययन गर्दै गर्दा विद्यालय समितिको सचिवको जिम्मेवारी पाउनुभयो । त्यसअघि उहाँ बाल क्लबमा सक्रिय हुनुहुन्थ्यो । २०७१ सालमा उहाँ सङ्गठनको शीतल माविको अध्यक्ष बन्नुभयो । पछि २०७३ सालमा सङ्गठनका तत्कालीन जिल्ला अध्यक्ष जीवन केसीको कार्यकालमा उहाँ चौथो बैठकबाट जिल्ला समिति सदस्यमा मनोनीत हुनुभयो । २०७३ मङ्सिर २१ र २२ गते भएको २५ औँ जिल्ला सम्मेलन पश्चात् बसेको प्रथम जिल्ला समितिको बैठकबाट जिल्ला सचिवालय सदस्य, अनुशासन विभाग प्रमुख र कमान्ड नम्बर ८ (साबिक नुवाकोट, खोलागाउ, चौरजहारी) को संयोजकको जिम्मेवारी समेत पाउनुभयो । 

२०७४ असोज २ र ३ गते भएको सङ्गठनको चौरजहारी नगर पालिकाको प्रथम नगर सम्मेलनबाट नगर समिति अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएका केसी नेकपा कालमा सङ्गठनको चौरजहारी नगर इन्चार्ज समेत बन्नुभयो । त्यसपछि २०७८ भदौ २२ गते भएको सङ्गठनको २६ औँ जिल्ला सम्मेलनबाट जिल्ला समिति उपाध्यक्ष र २०७८ सालमै भएको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट प्रदेश समिति सदस्यको जिम्मेवारी केसीको काँधमा आयो । २०७९ चैत्र ५ गते भएको स्ववियु निर्वाचनबाट शीतल क्याम्पस चौरजहारीको स्ववियु अध्यक्षमा निर्वाचित हुनुभएका केसी २०८० असारमा भएको क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलाबाट क्रान्तिकारी स्ववियु काउन्सिल केन्द्रीय समिति सह संयोजक बन्नुभयो । उनै केसी असोज २६ र २७ गते मुसिकोटमा भएको सङ्गठनको जिल्ला सम्मेलनबाट निर्वाचन मार्फत सङ्गठनको जिल्ला अध्यक्षमा निर्वाचित हुनुभयो । केसीसँग हामीले सङ्गठनको अबको कार्यभार, प्राथमिकता लगायतका विषयमा संक्षिप्त कुराकानी गरेका छौँ ।  

शैक्षिक सँगै सामाजिक विकृतिमाथि प्रहार गर्छौँ 
अब सङ्गठन व्यवस्थित, सुदृढ र क्रियाशील बनाउनु पर्ने कार्यभार म मा आइपुगेको महसुस गरेको छ । कसरी हुन्छ सङ्गठनलाई सुदृढ गरेर जानुपर्ने छ । शैक्षिक सवालमा थप सशक्त भएर लाग्नुपर्ने छ । शिक्षा क्षेत्रमा थुप्रै समस्याहरू रहेका छन् । सार्वजनिक शिक्षण संस्थाको अवस्था खस्कँदो अवस्थामा रहेको छ । सार्वजनिक संस्थाको गुणस्तर सुधार गर्नुपर्ने छ । अब हामी सार्वजनिक शिक्षण संस्थाको खस्किँदो शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण संस्थामा देखिएका विकृतिको विरुद्धमा आवाज उठाउने र समस्या समाधानको लागी रचनात्मक, सृजनात्मक गतिविधि सञ्चालन गर्छौँ ।

Nirajan1697376220.jpg
अध्यक्ष निराजन केसी ।

अर्को समस्या छ आर्थिक अभावका कारण विद्यार्थीले चाहेको पढ्न नपाउनु । निःशुल्क भनिएको शिक्षा पनि निःशुल्क हुन सकेको छैन, शुल्क लाग्ने शिक्षा झन् झन् महँगो हुँदै गइरहेको छ । माध्यमिक तहसम्मको शिक्षा र माध्यमिक तह उत्तीर्ण पछि प्राविधिक, उच्च शिक्षा र लोक सेवा कक्षाबाट आर्थिक अभावको कारण वञ्चित भएका विद्यार्थीको लागी स्थानीय सरकारसँग पहल गरेर रोजेको विषय पढ्न पाउने व्यवस्थाका लागि पहल गर्छौँ । 

हाम्रो समाजमा थुप्रो विकृति र विसङ्गतिहरू रहेका छन् । जसले हाम्रो समाजलाई नराम्ररी गाँजेको छ । जुन विकृतिले शिक्षा क्षेत्रमा पनि प्रत्यक्ष रूपमा असर गरिरहेका छन् । अब हामी शैक्षिक मुद्दासँगै सामाजिक मुद्दामा पनि केन्द्रित हुन्छौँ । समाजमा देखिने विभिन्न सामाजिक विकृतिको विरुद्ध आवाज बुलन्द गर्नु अबको हाम्रो अर्को कार्यभार हुने छ । अब सङ्गठनलाई एक खालको सक्रिय र चुस्त बनाएर हामी अघि बढ्छौँ । समग्रमा भन्दा जिल्लाको शैक्षिक आन्दोलनको नेतृत्व गरेर अघि बढ्छौँ । 

अखिल क्रान्तिकारी रुकुम पश्चिमका नव निर्वाचित अध्यक्ष नीराजन केसीसँगको कुराकानीमा आधारित । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update