Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट १० मा मदिरामा रोक, जानकारी दिनेलाई एक हजार पुरस्कार 
बाँफिकाेट गाउँपालिका १० काे भूगाेल ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० ले मदिरा उत्पादन, विक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । बुधवार बसेको वडाको बैठकले पुस २५ गते देखि लागु हुने गरी वडामा मदिरा उत्पादन, विक्री वितरण, ओसारपसार र मदिरा सेवनमा रोक लगाउने निर्णय गरेको हो । वडाका प्रत्येक टोलमा प्रहरी र स्थानीय वडा सरकारको उपस्थितिमा मदिरा उत्पादन, बिक्री, वितरण, ओसारपसार तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम गरी पुस २५ गतेदेखि मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय भएको वडा अध्यक्ष हरिबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै वडावासीलाई यस विषयमा अनुरोध गरिएको छ । वडामा भोली देखि सचेतनामूलक कार्यक्रम सुरु गरिने बताइएको छ । मदिरा सेवनको कारण गाउँघरमा झैझगडा लगायतका नकारात्मक गतिविधि हुने गरेकाले मदिरामा रोक लगाउने निर्णय गरिएको वडाध्यक्ष चन्दले जानकारी दिनुभयो । ‘मदिरा नियन्त्रण गर्नुपर्ने वडावासीहरूको आवाज छ, मदिरा सेवनकै कारण वडामा बेला बेलामा मान्छेको मृत्यु समेत हुने गरेको छ, पहिले बजारबाट आउने मदिरालाई नियन्त्रण गर्छौँ, त्यसपछि बिस्तारै गाउँमा उत्पादन हुने मदिरालाई पनि रोक्ने प्रयासमा छौँ’ वडा अध्यक्ष चन्दले भन्नुभयो ।

वडामा मदिरा बिक्री वितरणको लागि अनुमति (लाइसेन्स) प्राप्त गरेर हालसम्म कसैले पनि मदिरा बिक्री वितरण गरेका छैनन् । कानुनी रूपमा अनुमति लिएर व्यवसाय सञ्चालन गर्न चाहेमा यस विषयमा पछि सोचिने वडा कार्यालयले जनाएको छ । निर्णय विपरीत गएमा गाउँपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ नियम ७ बमोजिम कारबाही वडा अध्यक्ष चन्दले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

निर्णयलाई अटेरी गरी मदिरा उत्पादन गरेमा पहिलो पटक पाँच हजार जरिवाना, सोही व्यक्तिले पटक पटक सोही कार्य गरेमा पाँच हजारका दरले बढ्दै जाने सूचनामा उल्लेख छ । त्यस्तै मदिरा विक्री वितरण गर्ने व्यक्ति, व्यवसाय, मदिरा ओसार पसार गर्ने व्यक्ति, मदिरा सेवन गरी होहल्ला गर्ने, सार्वजनिक स्थलमा शान्ति भङ्ग गर्ने, गाली बेइज्जती गर्ने व्यक्तिलाई पनि सोही अनुसार जरिवाना हुने बताएको छ ।

यस विषयमा जानकारी दिने व्यक्तिको नाम गोप्य राखी उक्त व्यक्तिलाई मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ नियम ७ (२) बमोजिम एक हजार रुपैयाँ पुरस्कार दिने समेत  सूचनामा उल्लेख गरिएको छ ।

415609425_3108437402623929_2297706533687409015_n1704363438.jpg

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update