दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाइँ’ को सुटिङ सुरु भएको छ । रुकुम पूर्वका विभिन्न ठाउँमा खिचिने घर ज्वाइँको सुटिङ शनिवार लुकुमबाट सुरु भएको हो । फिल्ममा घर ज्वाइँको कथालाई देखाइँदै छ । फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुँदै छ । यहाँको चाल चलन, संस्कृति, संस्कार र आनीबानीलाई फिल्ममा देखाइँदै छ ।
रुकुम पूर्वका विभिन्न मगर बस्तीहरूमा फिल्मको छायाङ्कन हुने छ । शनिवार सुन्दर लुकुम गाउँबाट फिल्मको सुटिङ सुरु भएको हो । यस फिल्मको निर्देशन रुकुम पूर्वको तकसेराका अनिल बुढाले गर्दै हुनुहुन्छ । निर्माताका रूपमा जनक घर्ती मगर रहनुभएको छ । रुकुम पूर्वमा पहिलो पटक ठुलो पर्दाको फिल्म छायाङ्कन हुँदै छ ।
यो फिल्म रुकुम पूर्वको लकुम, तकसेरा सहित बागलुङको ढोरपाटन लगायतका स्थानमा खिचिने निर्माण टोलीले जनाएको छ । अधिकांश छायाङ्कन भने रुकुम पूर्वमै हुने बताइएको छ । करिब ३५ दिनमा फिल्म खिचिसक्ने गरी तालिका बनाइएको निर्देशक बुढाको भनाई छ । फिल्ममा चर्चित र सफल नायक दयाहाङ र पछिल्लो समय हाइ डिमान्डेटन मिरुनाको मुख्य भूमिका रहेको छ ।
फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ,भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनील मगर लगायतलाई पनि देख्न सकिने छ ।
यो फिल्मको कथा निर्देशक मगरकै हो । पटकथा र संवाद लेखनमा उहाँलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिनुभएको छ । सुसन प्रजापतिको छायाङ्कन, हर्क साउद र मनोज थापाको शब्द, सङ्गीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दै छ । नेपालको वितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसक्नुभएको छ । फिल्मको प्रदर्शन मिति आगामी असार २८ गते तोकिसकिएको छ ।
यो फिल्मलाई ठुलो महत्वका साथ हेरिएको छ । निर्देशक बुढाले यस अघि पनि विभिन्न फिल्म निर्देशन गरिसक्नुभएको छ । उहाँको आग्रे द आइरन डिगर अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित छ । उक्त फिल्मले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको छ । निर्देशक बुढा घर ज्वाइँ उक्त फिल्मकै सफलताको देन भएको बताउनुहुन्छ ।