
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा शुक्रवार देखि सुरु भएको रुकुम कृषि, पर्यटन, व्यापार तथा सांकृतिक महोत्सवमा आज देखि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने भएको छ । फागुन २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरू आउने छन् ।
महोत्सवमा आज देखि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने र टिकट शुल्क लाग्ने सह आयोजक कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । आज चर्चित गायक रामजी खाँड महोत्सवमा आउने उहाँको भनाई छ ।
त्यस्तै गायक रमेश डाँगी, शान्तराम सेन्चुरी, डान्सर सिन्धु चन्द र कल्पना विष्ट लगायतको पनि प्रस्तुति रहने परियारले बताउनुभयो । महोत्सवमा टिकट शुल्क १ सय कायम गरिएको छ । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली लगायतका कलाकारहरू पनि आउने बताइएको छ । महोत्सवको शुक्रवार कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा मन्त्री उर्मिला विश्वकर्माले उद्घाटन गर्नुभएको हो ।