Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम महोत्सव टङ्क तिमिल्सिनाले तताए, भोली एलिना चौहान आउने  

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा आयोजित महोत्सवमा आज पनि विभिन्न कलाकारहरूले प्रस्तुति राखेका छन् । तेस्रो दिन चर्चित गायक टङ्क तिमिल्सिना लगायतका कलाकार आएका थिए । टङ्कले आफ्ना विभिन्न गीतहरू सुनाउनुभएको थियो । उहाँको गीतमा दर्शकले नाचेर रमाइलो गरेका थिए । 

आइतबार पनि बिहानैबाट मौसमले प्रभावित बनाएको थियो । तर महोत्सवमा उल्लेख्य सङ्ख्यामा दर्शक उपस्थित भएको सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि तीन हजार बढी दर्शकहरू महोत्सव अवलोकन र किनमेलका लागि पुगेका थिए ।  

महोत्सवमा भोली चर्चित गायिका एलिना चौहान आउने अध्यक्ष परियारले बताउनुभयो । केही समय अघिसम्म धोकेबाज गायिकाका रूपमा चर्चित एलिना यति बेला भने आफ्नो नयाँ गीत 'कट्टा हान्दिन्छु' बाट चर्चित छिन् । भोली एलिनालाई हेर्न बाक्लो सङ्ख्यामा दर्शक पुग्ने अपेक्षा गरेको परियारको भनाई छ । 

महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली लगायतका कलाकार आउने आयोजकले जनाएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा शुक्रवार देखि महोत्सव सुरु भएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update