Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पूर्वका विभिन्न ठाउँमा छायाङ्कन गरिएको दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘घरज्वाइँ’को ‘क्यारेक्टर लुक्स’ सार्वजनिक भएको छ । आज दुई वटा पाेस्टर सार्वजनिक गरिएको हो । एउटामा दयाहाङ राईलाई मगर भेषभूषामा काँधमा राइफल बोकेको अवस्थामा देखाइएको छ । उक्त लुक्स अनुसार दयाहाङ सिकारमा निस्किएको जस्तो देखिन्छ । 

अर्को पाेस्टरमा दयाहाङ र मिरुनालाई एक साथ देखाइएको छ । उनीहरूलाई डोको बोकेर हिँडिरहेको देखाइएको छ । दयाहाङले ६ वटा डोको बोकेको र मिरुनाले एउटा डोको बोकेर हिँड्दै ऊनबाट केही बुनिरहेको अवस्थामा देख्न सकिन्छ । उनीहरू दुवै जना मगर भेषभूषामा सजिएका छन् । यो चलचित्र मगर संस्कृतिसँग जोडिएर निर्माण भइरहेको छ । 

मगर संस्कृति, चाल चलन, संस्कार, रीतिरिवाज र आनीबानी लगायतलाई फिल्ममा देखाइँदै छ । करिब एक महिनाको छायाङ्कन पश्चात् यति बेला निर्माण टोली चलचित्रको सम्पादन, डबिङ लगायतका काममा व्यस्त रहेको छ । यस चलचित्रको छायाङ्कन रुकुम पूर्वका लुकुम, तकसेरा लगायतका मगर बस्तीहरूमा गरिएको छ । यो चलचित्रको प्रदर्शन मिति २०८१ असार २८ गतेलाई तोकी सकिएको छ । 

यस चलभित्रको निर्देशन रुकुम पूर्वको तकसेराका अनिल बुढाले गरिरहनुभएको छ । निर्माताका रूपमा रोल्पाका जनक घर्ती मगर रहनुभएको छ । रुकुम पूर्वमा पहिलो पटक ठुलो पर्दाको चलचित्र छायाङ्कन भएको हो । 

घरज्वाइँमा चर्चित तथा सफल नायक दयाहाङ र पछिल्लो समय हाइ डिमान्डेटन मिरुनाको मुख्य भूमिका रहेको छ । यो जोडीको माग अहिले उच्च छ । यो जोडिलाई चलचित्रमा अनुबन्ध गर्नका लागि निर्माता तथा निर्देशकहरु बिचमा हानथाप नै छ । फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनील मगर लगायतलाई पनि देख्न सकिने छ ।  

यो फिल्मको कथा निर्देशक मगरकै हो । पटकथा र संवाद लेखनमा उहाँलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिनुभएको छ । सुसन प्रजापतिको छायाङ्कन, हर्क साउद र मनोज थापाको शब्द, सङ्गीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दै छ । नेपालको वितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसक्नुभएको छ ।

यो फिल्मलाई ठुलो महत्वका साथ हेरिएको छ । निर्देशक बुढाले यस अघि पनि विभिन्न फिल्म निर्देशन गरिसक्नुभएको छ । उहाँको आग्रे द आइरन डिगर अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित छ । उक्त फिल्मले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको छ । निर्देशक बुढा घर ज्वाइँ उक्त फिल्मकै सफलताको देन भएको बताउनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update