Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पूर्वका विभिन्न ठाउँमा खिचिएको बहु प्रतीक्षित चलचित्र ‘घरज्वाइँ’का थप दुई पोस्टर सार्वजनिक गरिएको छ । यस अघि दुई वटा क्यारेक्टर लुक्स सार्वजनिक गरेको निर्माण पक्षले बुधबार (आज) थप दुई वटा पोस्टर सार्वजनिक गरेको हो । चलचित्रमा चर्चित नायक दयाहाङ र चर्चित नायिका मिरुना मगर मुख्य भूमिका छन् ।

सार्वजनिक पोस्टर एउटामा दयाहाङ र मिरुना पिठ्युँमा भारी बोकेको अवस्थामा देखिन्छन् । उनीहरू मगर भेसभुसामा सजिएका छन् भने हर्षित मुद्रामा देखिन्छन् । उनीहरू दम्पतीका रूपमा रहेको बुझ्न सकिन्छ र एक अर्का बिचमा निकै खुसी छन् । उनीहरूको पार्श्वमा रुकुम पूर्वको तकसेरा गाउँ देख्न सकिन्छ ।

अर्को पोस्टरमा भने चलचित्रका अन्य कलाकारहरूलाई समेत देखाइएको छ । पोस्टरको लिडमा दयाहाङ र मिरुनालाई नै देखाइएको छ । यस पोस्टरमा भने उनीहरू गम्भीर मुद्रामा छन् । पोस्टरमा बुद्धि तामाङ (हैट) सहित चलचित्रमा रहेका अन्य मुख्य कलाकारहरूलाई देखाइएको छ । सबैलाई स्थानीय मगर भेसभुसामा देख्न सकिन्छ । पोस्टरमा एक महिला काँधमा ठुलो काठ बोकेको अवस्थामा देखिन्छिन् । काठको ठेकी समेत देख्न सकिन्छ भने ऊन कातिरहेको समेत देखाइएको छ ।

यो चलचित्र मगर समुदायमा प्रचलित घरज्वाइँको संस्कारमा आधारित रहेर निर्माण भएको हो । यस चलचित्रको कथा निर्देशक समेत रहेका तकसेराका अनिल बुढाको हो । चलचित्रले घरज्वाइँको कथालाई उजागर गरेको छ ।

यस चलचित्रका नायक दयाहाङले घरज्वाइँ भन्ने वित्तिकै समाजमा नराम्रो बुझाई रहेको भए पनि मगर समुदायमा रहेको घरज्वाइँ संस्कार भने आम मानिसले बुझेको भन्दा फरक रहेको बताउनुभएको छ । केही दिन अघि आयोजित एक कार्यक्रममा बोल्दै चलचित्र घरज्वाइँका मुख्य मात्र दयाहाङले चलचित्र घरज्वाइँ समाजमा आम रूपमा बुझाइमा रहेको भन्दा फरक रहेको प्रतिक्रिया दिनुभएको थियो । उहाँले भन्नुभएको थियो नेपाली समाजमा घरज्वाइँ भन्ने बित्तिकै पुरुषलाई हेपाहा शैलीमा बुझिन्छ तर मैले रुकुममा पुगेर खेलेको घरज्वाइँ भने यो भन्दा फरक छ, मगर समुदायमा घरज्वाइँको अर्थ फरक रैछ, यो त माइती पक्षले आफ्नी छोरी चेलीको राम्रोका लागि गर्ने चिन्ता रैछ, ज्वाइँ छनोट गर्ने शैली रैछ ।

दयाहाङको यही कुरालाई आधार मान्ने हो भने हामीले सुन्दै, देख्दै र भोग्दै आएको घरज्वाइँ भन्दा चलचित्रले उजागर गर्न चाहेको घरज्वाइँको कथा फरक छ । यो चलचित्र रुकुम पूर्वका विभिन्न ठाउँमा खिचिएको छ । असार २८ गते प्रदर्शन मिति तोकेर निर्माण पक्ष यति बेला चलचित्रको इडिटिङ, डबिङ लगायतका काममा व्यस्त रहेको छ । यो चलचित्रको निर्मातामा रोल्पाका जनक घर्तिमगर रहनुभएको छ ।

यस चलचित्रमा दयाहाङ, मिरुना बाहेक बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनिल मगर लगायतलाई पनि देख्न सकिने छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update