Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १२ ले ५ वर्षका लागि लिएको लक्ष २ वर्षमा ४५ प्रतिशत पुरा 
२ वर्षकाे प्रगति विवरण सार्वजनिक गर्दै वडाध्यक्ष धिरन शिर्पाली ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ ले दुई वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । २०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट वडामा निर्वाचित भएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको दुई वर्ष पुगेको अवसरमा दुई वर्षको प्रगति विवरण शनिवार सार्वजनिक गरिएको हो । वडा कार्यालयमा एक कार्यक्रमका बिच वडाध्यक्ष धिरन शिर्पालीले २ वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभयो ।

प्रगति विवरण सार्वजनिक गर्दै उहाँले चुनावी प्रतिबद्धता अनुसार काम गरिरहेको बताउनुभयो । चुनावी प्रतिबद्धता बाहेक वडावासीका आवश्यकता अनुसारका काम समेत गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार समग्रमा ५ वर्षमा के के गर्ने भनेर लक्ष निर्धारण गरिएको छ । जसअनुसार जनप्रतिनिधि र कर्मचारीको टिम खटिएको वडाध्यक्ष शिर्पालीले बताउनुभयो । पदभार ग्रहण गरेको दुई वर्षमा चुनावी प्रतिबद्धता र वडावासीको आवश्यकता अनुसार काम गरेको उहाँले बताउनुभयो ।

समग्रमा पाँच वर्षका लागि निर्धारण गरिएको लक्षको करिब ४५ प्रतिशत लक्ष दुई वर्षको अवधिमा पुरा भएको उहाँले बताउनुभयो । ४ वर्षमा सबै लक्ष हासिल गर्ने र अन्तिम वर्ष जनतासँग जोडिएका अन्य महत्त्वपूर्ण कामको थालनी गर्ने लक्षका साथ अघि बढेको उहाँले बताउनुभयो । वडाले दुई वर्षमा सडक, खानेपानी, गोरेटो बाटो, विद्यालय, मन्दिर, सुत्केरी स्याहार, पशु, कृषि लगायतका क्षत्रको प्रगति सार्वजनिक गरेको हो ।

DSC09181-1716636875.jpg
जसअनुसार १० किलोमिटर सडक स्तरोन्नति, ५.४ किलोमिटर नयाँ सडक निर्माण, १.४ किलोमिटर पिसिसि गोरेटो बाटो निर्माण, २ सय ८० घरधुरीमा खानेपानीको व्यवस्था, १ सय ७७ घरधुरीमा सिँचाइको सुविधा, १५ वटा विद्यालय कक्षा कोठा, ४ वटा सामुदायिक भवन र २ वटा मन्दिर निर्माण भएका छन् ।

२ वटा खेलकुद तथा सम्मान कार्यक्रम, ५० जना सुत्केरीलाई स्याहार खर्च वितरण, ३२ जना मुटु, मिर्गौला तथा दीर्घ रोगीलाई स्वास्थ्य बिमा, १ सय ८ कृषकलाई बिउ वितरण, ३४ पशुको पशु बिमा, १ सय ४२ जना ज्येष्ठ नागरिक, सहिदका परिवार, बेवारिसे विपन्न परिवारलाई सम्मान, ४ हजार २ सय ५७ जनालाई आधारभूत स्वास्थ्य सेवा र ८९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी सेवा प्रदान गरिएको वडाको दुई वर्षे प्रगति विवरणमा उल्लेख छ ।

त्यस्तै वहुक्षेत्रिय पोषण कार्यक्रमबाट हजार दिने ७३ जना आमालाई कुखुरा वितरण, १ सय ६६ जनामा कोभिडको एन्टिजेन परीक्षण, ८ सय २७ जनालाई कोभिड खोप, २ सय १ बच्चालाई मासिक खोप, ३ सय ६२ जना बालबालिकाको रक्त समूह पहिचान, ६५ जना सुत्केरीसँग घरभेट जाँच, १ सय ६८ जनालाई परिवार नियोजनका साधन प्रदान गरिनुका साथै ३५ जना दुई वर्ष मुनिका बालबालिकाको तौल मापन समेत गरिएको वडाध्यक्ष शिर्पालीले जानकारी गराउनुभयो ।

DSC09197-1716636872.jpg
यसका साथै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका कार्यक्रमका बारेमा समेत जानकारी गराइएको थियो । वडाको प्रशासनिक प्रगति विवरण समेत सार्वजनिक गरिएको छ । वडाले चालु आर्थिक वर्षको हालसम्म३ लाख २५ हजार ६ सय ३ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

वडाध्यक्ष शिर्पालीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू, पूर्व जनप्रतिनिधिहरू, राजनीतिक दल, पत्रकार लगायतको उपस्थिति रहेको थियो । साथै पत्रकार राजु लामिछाने, मनिष खड्का र परिचन्द्र खत्रीलाई वडाले सम्मान समेत गरेको छ । वडा सदस्य छैमा विकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वडा सचिव देवीलाल पुनले गर्नुभएको थियो ।  

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update