टी-२० विश्वकप क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी ९ः१५ मा अमेरिकाकाे डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट ग्राउण्डमा हुने छ । नेपाल र नेदरल्याण्ड्सबिचकाे खेलमा दीपेन्द्रसिंह ऐरी र माइकल लेविटकाे ब्याटललाई महत्वका साथ हेरिएकाे छ । यस्ताे छ यी दुईकाे खेलः
माइकल लेविटले गत वर्ष १९ वर्षको उमेरमा डेब्यु गरेका हुन । डेब्यु गरेदेखि उनी नेदरल्याण्ड्सका प्रमुख खेलाडी बनेका छन् । दक्षिण अफ्रिकामा जन्मेका लेविटले अहिलेसम्म ८ टी–२० इनिङ्समा ४३.६२ को औसत र १५६.५० को स्ट्राइक रेटमा ३४९ रन बनाएका छन् । उनले नामिबिया विरुद्ध मात्र ६२ बलमा १३५ रन बनाएर नेदरल्यान्ड्सको लागि आफ्नो दोस्रो टी–२० आइमा उच्च स्कोर बनाएका थिए । त्यस्तै उनले यसै विश्वकपको अभ्यास खेलमा श्रीलङ्का विरुद्ध २८ बलमा ५५ रन बनाउनुले पनि उनी कत्तिको फर्ममा छन भनेर बुझ्न सकिन्छ ।
गत वर्ष एसियाली खेलकुदमा मङ्गोलिया विरुद्ध मात्र ९ बलमा सबैभन्दा छिटो टी–२० आइ अर्ध शतक प्रहार गरेका दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनले उच्च स्तरका टोलीहरू विरुद्ध पनि आफ्नो गुणस्तर देखाएका छन् । नेदरल्याण्ड्सलाई थाहा छ उनी कति महत्त्वपूर्ण खेलाडी हुन भनेर । यस वर्षको सुरुमा कीर्तिपुरमा नेदरल्याण्ड्सले नेपाललाई हराएको थियो । नेपाललाई २४ बलमा ५७ रन चाहिएको थियो, जब ऐरी विस्फोटक ब्याटिङ गरिरहेका थिए । उनले ३४ बलमा ६३ रन बनाएर नेपाललाई जितको ढोकामा पुर्याएका थिए । तर तीन बलमा चार रन आवश्यक रहेकोमा रोइलोफ भान डर मर्वेले उनलाई बोल्ड गरे र नेदरल्यान्ड्सले उक्त खेल दुई रनले जितेको थियो ।