Kakhara सबैको खबर सम्पूर्ण खबर
विश्वकपमा अमेरिकाको अविश्वसनीय प्रदर्शन, पाकिस्तानलाई हरायो 

आयोजक अमेरिकाले जारी विश्वकपमा अविश्वसनीय प्रदर्शन गरिरहेको छ । उसले आफ्नो दोस्रो खेलमा विश्वकप जितिसकेको पाकिस्तानलाई पराजित गरेको छ । नेपाली समय अनुसार गए राती अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा ५ रनले पराजित गरेको हो । सुपर ओभरमा अमेरिकाले पहिला ब्याटिङ गर्दै १८ रन जोडेको थियो । जवाफमा पाकिस्तानले १३ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाउदा सादाब खानले ४०, साहिन साह अफ्रिदिले नटआउट २३ र इफ्तिकार अहमदले १८ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमेरिकाका नोसथुस केन्जिगेले सर्वाधिक ३ विकेट लिएकामा सौरभ नेत्रभाल्करले २ र अलि खान तथा जसदीप सिंहले एक एक विकेट लिएका थिए ।

१ सय ६० को जबाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५९ रन नै बनाएपछि खेल बराबरी हुँदै सुपर ओभरमा गएको थियो । अमेरिकाका लागि कप्तान मयंक पटलले सर्वाधिक ५० रनको अर्धशतकीय योगदान गरेका थिए । एरोन जोन्सले ३६, एन्ड्रिस गौसले ३५ रन बनाएका थिए ।

पाकिस्तानका मोहमद अमिर, नसिम साह र हरिस रौफले समान १ विकेट लिएका थिए । यो अमेरिकाको लगातार दोस्रो जीत हो । पहिले खेलमा अमेरिकाले क्यानडामाथि सानदार जीत दर्ता गरेको थियो । पाकिस्तानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update