सिस्ने हिमालको उच्च शीर बनी
सेताम्मे हिउँका पदचाप रूपमा
मितेरी गाँसी
मुसुक्क हाँसिरहेको छ रुकुम ।
परिवर्तन र क्रान्तिको
नयाँ यात्रामा
विश्वकै ध्यान खिच्न
सफल पनि छ रुकुम
वर्गीय धर्ती अनि विकासको
नयाँ मोडल बनिरहेको छ
क्रान्ति र शान्तिको नेतृत्वमा समेत
अग्र मोर्चामा अविचलित छ रुकुम
शोषण र दमनको विरुद्धमा
गौरवको सतिसाल बनिरहेको छ
सुसारे मुसीको ऐतिहासिकतामा
पापीनी मेला र सगालहरुको
अनौठो संस्कृतिमा
ठुलीदहको मनोहरतामा
कामी बुढाको आस्था र गौरवगाथामा
मुसिकोट जीवन्त बनिरहेको छ
लहलह धानका बालाहरूमा
झुलिरहेको झुल्खेत
नयाँ गाउँ र सोलावाङको
पृष्ठभूमिमा
माछमी र छिवाङका
सुन्दर फाँटहरूमा
नुनिरहेको छ
अर्गानिक कृषि खेतीका
नयाँ बस्तीहरू बनिरहेका छन्
जन्ती बस्ने लेकको सहारामा
समग्र रुकुमलाई चियाउँदै
दीन दुःखीहरूको सहारा बनी
सल्ले विमानस्थल
पुँजीको मुसिकोट बनिरहेको छ ।
खाराको विरासतमा
बाँचिरहेको प्रिय त्रिवेणी
विजय घले, विश्वेश्वर र कर्णको
ऐतिहासिक कुर्बानीमा
खास त्रिवेणी बनिरहेको छ
सानीभेरीको कलकल आवाज झैँ
सुन्दर गन्तव्यमा रहेको सानीभेरी
मौराखाराको
उकाली ओरालीमा
युद्ध पर्यटकीय स्थलको
नयाँ चौतारीको देउराली
सानीभेरी बगिरहेको छ
तराइजस्तै फाँटले परिचित
चौरजहारी
अन्नको भण्डार बनी
जनताको पलपलको
गास, बास र कपास बनिरहेको छ ।
खासमा,
वारुण र पूर्णको रक्तरञ्जित
आस्था र विचारमा
फड्को मार्दै छ चौरजहारी ।
एउटा सानो विश्व जस्तै बनी
स्वीट्जरल्याण्डको आकारमा
गोतामकोट धार्मिक प्रसिद्धिमा
अन्याय र अत्याचारको उठानमा
बम र बारुदसँगै
विविध कठिनाइ र जटिलतासँग
जीवन्त साहसिक
मुकाबिला गरिरहेको छ आठबिसकोट ।
स्यार्पूको गौरवपूर्ण सुन्दरतामा
आकर्षणको केन्द्र बनी
परिचित बनिरहेको बाँफिकोट
दुली र मग्माको आडमा
खासको आकर्षणको
पर्यटकीय स्थल बनिरहेको छ ।
कमलदह पर्यटकीय गन्तव्य बन्दै
मध्यपहाडि लोकमार्गको
सुनौलो भविष्य बोकेर
मिनी पोखरा र स्यालापाखाको
सौन्दर्यताको समिपमा
रुकुमको छ
कोटकै हावामा हुर्किरहेको छ ।
प्वाङको वैचारिक
चट्टानी अडान लिएर
परिवर्तनको नयाँ किल्ला
बनिरहेको छ प्रिय ! रुकुम ।
मृगका शावकहरू झैँ
बुर्कुसी मार्दै
जाङका कठिन घुम्तीमा
सुनदहका सुन्दर बस्ती
भेडीगोठहरुको आबद्धता
अनि
मालचरीको भाकामा
पहाडी चुच्चे हिमशिखरहरु संगै
ज्वालामुखीको झोक्कामा
पुथाउत्तरगंगा
मैकोट र तकसेरा झैँ
अरू भन्दा अग्लो बनी
नयाँ सन्देश दिइरहेको छ ।
जिउँदो इतिहासमा
भूमेको महत अनि लुकुम
स्वर्णिम बस्ती बनी
पलपल बाँचिरहेको छ ।
काँक्रीको ओछ्यानमा सजिएर
मोरावाङका उकाली र ओरालीहरूमा
मगर संस्कृतिमा रमाउँदै
चित्रिपाटन र बुकीपाटनका
कर्णप्रिय ! आवाजहरूमा
भूमे जीवन्त बनिरहेको छ ।
हिमाल, पहाड र तराइको
भूगोलमा
सिस्नेको मुस्कानमा
क्रान्ति र परिवर्तनको नयाँ बस्ती
बनिरहेको छ रुकुम ।