Kakhara सबैको खबर सम्पूर्ण खबर
तकसेराको आँगनमा साहित्य महफिल 

रुकुम पूर्वको तकसेरा शनिवार साहित्यिक बन्यो । खासै ठुला साहित्य कार्यक्रमको स्वाद नचाखेको तकसेरा शनिवार भने चर्चित देखि उदाउँदा साहित्यकारको स्वागतमा जुट्यो । शनिवार दिनभर तकसेरा साहित्यको रसमा घुलित भयो । गजलकार प्रदीप रोदनको रोदन महसुस गर्‍यो । राप्ती साहित्य परिषद् रुकुम पूर्वले जिल्लाको पुथाउत्तगरगंगा गाउँपालिका वडा नम्बर १० को तकसेरामा तेस्रो साहित्य महफिलको आयोजना गरेको हो ।

यसअघि नै तय भएको कार्यक्रम हुन नपाई रोकिएको थियो । तर शनिवार भने उक्त कार्यक्रम भयो । अहिलेका चर्चित गजलकार प्रदीप रोदनको उपस्थितिमा तेस्रो साहित्य महफिल सम्पन्न भयो । कार्यक्रममा गजलकार रोदनले विभिन्न स्वादका गजल पस्किनुभएको थियो । उहाँका गजलको रसले तकसेरालाई मन्त्रमुग्ध बनाएको थियो । उहाँ सहित महफिलमा जिल्लाका उदाउँदा सर्जकहरू कवयित्री फत्तेकुमारी ओली, गजलकार गोविन्द पुन गिरीश र कथाकार कृष्ण पुन मगर लगायतले साहित्यिक रस थप्नुभएको थियो ।

sahitya-mahafip-1738483503.jpg
राप्ती साहित्य परिषद् रुकुम पूर्वले बर्सेनि यो कार्यक्रम गर्ने गरी यस कार्यक्रमको परिकल्पना गरेको छ । यसअघिका दुई संस्करण सिस्ने गाउँपालिका र भूमे गाउँपालिकामा भएको परिषद्का अध्यक्ष जमुना गौतम पुनले जानकारी दिनुभयो । परिषद्का अध्यक्ष जमुनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहन केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुणिराज घर्ती, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष नरपूरा बुढा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण गणेश शिर्पालीले गर्नुभएको थियो ।  

 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update