
राप्ती साहित्य परिषद् रुकुम पश्चिमले १७ औँ वार्षिकोत्सव मनाएको छ । स्थापना दिवसका अवसरमा आज मुसिकोटमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । परिषद्ले आज १७ औँ वार्षिक उत्सवको अवसरमा मुसिकोट नगरपालिका १ खलङ्गामा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत तथा सम्मान गरेको हो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीका अनुसार कर्णाली प्रदेशका पूर्व प्रमुख सचिव भरतकुमार शर्मालाई रुकुम साहित्य माला पुरस्कार २०८१, साहित्यकार खगेश्वर भण्डारीलाई मुसिकोट नगर प्रमुख साहित्यिक पुरस्कार २०८१, गायक तथा सर्जक तिलक परियारलाई योगमाया लोक साहित्य पुरस्कार २०८१, कखरा डटकममा कार्यरत पत्रकार बलेन्द्र ओलीलाई सुमना–सुमन साहित्यिक पुरस्कार २०८१ र देवीकला कठायतलाई बलबहादुर श्रेष्ठ स्मृति साहित्यिक पुरस्कार २०८१ प्रदान प्रदान गरिएको छ ।
त्यस्तै कला साहित्य संस्कृति संरक्षण मञ्च त्रिवेणीलाई मुसिकोट नगर प्रमुख साहित्यिक पुरस्कार २०८१ बाट पुरस्कृत पुरस्कृत गरिएको उहाँको भनाइ छ ।
रुकुम साहित्य माला पुरस्कार ५ हजार, मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार ५ हजार, योगमाया लोक साहित्य पुरस्कार ५ हजार, सुमना–सुमन साहित्यिक पुरस्कार १ हजार र बलबहादुर श्रेष्ठ स्मृति साहित्यिक पुरस्कार ५ हजार राशिको रहेको छ ।
मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार संस्था तर्फ ५ हजार राशिको रहेको छ । संस्थाले वार्षिक उत्सवको अवसरमा विभिन्न संस्था तथा व्यक्तिलाई कदर पत्रले सम्मान समेत गरेको छ । यसका साथै परिषद्लाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई समेत सम्मान गरिएको बताइएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा अध्यक्ष ओलीको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै समन्वय अधिकारी पुण्यप्रसाद भट्टराई, प्रज्ञा प्रतिष्ठान नेपालका सदस्य शशीराम कार्कीको विशेष अतिथ्यता रहेको थियो ।
त्यस्तै साहित्य प्रेमी, कलाकार, पत्रकारहरूको उपस्थित रहेको थियो । वार्षिक उत्सवको अवसरमा स्रष्टाहरूले साहित्यिक सिर्जना समेत वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन परिषद्का सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न स्रष्टाहरूले विभिन्न रचना वाचनका साथै सांस्कृतिक प्रस्तुति समेत रहेको परिषद्ले जनाएको छ । परिषद्ले रुकुम पश्चिमको साहित्यिक विकासका लागि विभिन्न गतिविधि गर्दै आएको छ । परिषद्ले रेडियो सानीभेरी एफ.एम.बाट नियमित साप्ताहिक रूपमा साहित्य माला कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम यस क्षेत्रमा लोकप्रिय रहेको छ ।
यसका अलावा राप्ती साहित्य परिषद् रुकुम पश्चिमले रुकुम साहित्य माला, एकल रचना वाचन लगायतका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।