
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ राडीमा आजदेखि ‘‘दोस्रो आठविसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव’’ सुरु भएको छ । महोत्सवको पुर्व कर्णाली प्रदेशका मन्त्री रातो कामीले ब्यानर पढेर महोत्सवको उद्घाटन गर्नुभएको हो । आजदेखि सुरु भएको महोत्सव वैशाख २७ गतेसम्म संचालन हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति रुकुम पश्चिमले जनाएको छ ।
भोली महोत्सवमा गायक भागिरथ चलाउनेको प्रस्तुतीका साथै स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला अध्यक्ष तुल देवकोटा जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा करिव ५० बढी व्यापारिक स्टल रहेका छन् । महोत्सव स्थलभित्र स्थानीय भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।
जिल्लाको समग्र पर्यटन विकास तथा सांस्कृतिक विविधताको प्रदर्शनका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । महोत्सवमा नायक पल शाह, जिवन शर्मा, विष्णु खत्री, ज्योती मगर, पुष्कल शर्मा, बद्री पगेंनी, एलिना चौहान, लगायत अन्य राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको संरक्षकको रुपमा आठविसकोट नगरपालिका रहेको छ ।