Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा ‘सिस्नुपानी’

रुकुम पश्चिमको मुसिकोटमा सिस्नुपानी नेपालको हास्यव्यङ्ग्य कार्यक्रम भएको छ । सुशासन र प्रवर्द्धनका लागि सिस्नुपानी नेपाल र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहकार्यमा मुसिकोट नगरपालिका ५ शेरिगाउँस्थित सहिद प्रतिष्ठानको सभा हलमा बुधवार कार्यक्रम भएको हो । कर्णालीमा सिस्नुपानी हास्यव्यङ्ग्य यात्रा २०८२ अन्तर्गत मुसिकोट नगरपालिकाको समन्वयमा कार्यक्रम भएको छ । यो कार्यक्रममा रुकुमेली वाङमय अधिष्ठान र राप्ती साहित्य परिषद्ले पनि सहयोग गरेका थिए ।

कार्यक्रममा सिस्नुपानी नेपालमा आबद्ध खातीप्राप्त कलाकार तथा साहित्यकारहरूले भ्रष्टाचारका विरुद्धमा विभिन्न रचना वाचन गरेका थिए । सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, कवि अर्जुन पराजुली, धिरेन्द्र प्रमेहर्षि, चक्र दवाडी, गायक शिशिर योगी, हास्यव्यङ्ग्य कलाकार सुबोध गौतम लगायतका राष्ट्रिय तथा मुकुन्दप्रसाद शर्मा, गिरीप्रसाद बुढा, ओम केसी लगायतका साहित्यकारहरूले पनि रचना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रस्तुत रचना भ्रष्टाचारले निम्त्याएको समस्या, भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने सम्बन्धमा केन्द्रित थिए । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख देवबहादुर विकको प्रमुख र मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सिस्नुपानी नेपालका टङ्क आचार्य र राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले गर्नुभएको थियो । कार्यक्रममा रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्ण ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।  

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update