Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा परम्परागत लाखे नाच सम्पन्न

रुकुम पश्चिममा परम्परागत लाखे नाच आज सकिएको छ । साउन २४ गते जनै पूर्णिमाबाट सुरु भएको नाच आज सकिएको हो । यो नाच हरेक वर्षको श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट सकिने गर्दछ । 

नाच सुरु भएदेखि श्रीकृष्णजन्माष्टमीको भोलिपल्टसम्म खलङ्गा, बागबजार, सेरिगाऊ, सल्ले लगायतका बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिन्छ । श्रीकृष्ण सहित राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्र सहित व्यक्तिलाई शृङ्गारेर नचाउने गरिन्छ । 

कंसलाई कुखुरा भोग दिएर सुरु हुने लाखे जात्रा श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट आज कंसलाई नै मारेर समापन गरिएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष केशव नेपालीले जानकारी दिनुभयो । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ । जात्राको अन्तिम दिन आज सदरमुकाम खलङ्गाको बराहटाकुरामा मेला लागेको थियो । जात्रा हेर्न गाउँ गाउँबाट मानिसहरु सदरमुकाम पुगेका थिए । 

जात्रा सुरु भएदेखि खलङ्गा सहित अन्य बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिन्छ भने अन्तिम दिन बराहटाकुरामा मेला सहित नाच देखाउँदै लाखे मारेर जात्राको औपचारिक समापन गर्ने गरिन्छ ।

द्वापर युगको अन्त्यतिर वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा रुकुम पश्चिममा २०४० साल देखि हरेक वर्ष लाखे जात्रा मनाउँदै आएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष नेपालीले बताउनुभयो ।

उहाँका अनुसार भगवान् कृष्णलाई मार्न कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर जिल्लामा हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update