
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले एक विपत् प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ । वडाको तल्लो चौरका गणेश ओलीको परिवारलाई तत्कालका लागि आवश्यक खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा सहयोग गरिएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो ।
भदौ ६ गते बिहान माथिल्लो चौरबाट झरेको पहिरोले घर पुरिएर घरबार विहीन हुनुभएका ओलीको परिवारलाई वडा कार्यालयबाट तत्कालका लागि चाहिने राहत उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार ३ बोरा चामल, एक पेटी तेल, १० केजी दाल नुन, फाइवर सिरक, डसना, सिरानी, तन्ना, प्रेसर कुकुर, कडाइ, थाली बटुका, गाग्री, बाटा, बाल्टी, जग, डाडु, पनियो, गिलास, त्रिपाल, चक्कु, चिम्टा, लोटा लगायतका सामग्री सहयोग गरिएको हो ।
वडाले तत्कालका लागि आवश्यक सामग्री उपलब्ध गराएका पछि पीडित परिवारले खुसी व्यक्त गरेको छ । तत्कालका लागि जोहो गर्न सहज हुने भन्दै विपत् पीडित परिवारले खुसी व्यक्त गरेको हो । उक्त सामग्री वडा सदस्य बुद्धिराम रोकायले हस्तान्तरण गर्नुभएको थियो ।