
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ र मुसिकोट नगरपालिका वडा नम्बर ९ को सङ्गम स्थल गैरिनेटामा परम्परागत रूपमा लाग्दै आएको मेला यस वर्ष पनि लाग्ने भएको छ । यही असोज २६ गतेदेखि ३० गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ । वडा युवा तथा खेलकुद विकास समितिको आयोजना तथा हाम्रो युवा समाजको सह आयोजनामा मेलाको आयोजना गरिएको हो ।
मेलामा खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल, एकल नृत्य, लोक दोहोरी, आमा समूह रस्साकस्सी र भाले तान्ने प्रतियोगिता आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष मिलन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले नगद १ लाख १ हजार १ सय ११, दोस्रो स्थान हासिल गर्ने समूहले ५१ हजार १ सय ११ र सान्त्वना हुने दुई टिमले समान २१ हजार १ सय ११ रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दर्ता शुल्क १० हजार हरेको छ ।
त्यस्तै एकल नृत्य, लोक दोहोरी र आमा समूह रस्साकस्सी तर्फ समान प्रथम स्थान हासिल गर्ने समूहले ५ हजार, दोस्रो स्थान हासिल गर्ने समूहले ३ हजार र तेस्रो स्थान हासिल गर्ने समूहले २ हजार रुपैयाँ पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दर्ता शुल्क पनि समान ३ सय रहेको छ । भाले तान्ने प्रतियोगितामा विजेता हुने व्यक्तिले ३ हजार बराबरको रातो भाले प्राप्त गर्ने छ । दर्ता शुल्क २ सय रहेको छ । मेलामा स्थानीय झाँकी सहित मयूर नाच पनि प्रदर्शन गरिने गैरिनेटा मेला व्यवस्थापन समितिले जनाएको छ ।
गैरिनेटा मुसिकोट नगरपालिका ९ र त्रिवेणी गाउँपालिका वडा नम्बर २ को सिमानामा रहेकाले हरेक वर्ष मुसिकोट र त्रिवेणीले आलोपालो मेला लगाउँदै आएका छन् । गत वर्ष मुसिकोट ९ ले मेला आयोजना गरेको थियो ।