रुकुम पश्चिमका राम बि पुन सर्वोत्कृष्ट सुगम सङ्गीत नव मोडल बन्नुभएको छ । उहाँले यसै वर्ष बजारमा आएको तकदिर २–‘म माया गर्छु’ बाट दोस्रो बि स्टार फिल्म म्युजिक अवार्ड २०८२ अन्तर्गत सर्वोत्कृष्ट सुगम सङ्गीत नव मोडलको अवार्ड जित्नु भएको छ ।
आज काठमाडौँमा विशेष कार्यक्रमका बिच अवार्ड वितरण गरिएको हो । यसै विधामा नाेमिनेसनमा परेका अन्य तीन जनालाई पछि पार्दै पुन सर्वोत्कृष्ट नव मोडल बन्नुभएको हो । भोटका आधारमा विजेता घोषणा गरिएको हो ।
पुनले यसलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण सफलता भन्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले यो सफलतालाई स्वर्गीय बुवा प्रति समर्पित गरेको लेख्नुभएको छ । उहाँको बुवाको केही समय अघि मात्र निधन भएको थियो ।
पुनले आफूलाई जिताउने सबैलाई धन्यवाद समेत दिनुभएको छ । साथै उहाँले गायक प्रमोद खरेल, सङ्गीतकार रोशन सिंह सहित सम्पूर्ण कलाकार तथा अन्य सबैलाई पनि धन्यवाद दिनुभएको छ । उहाँ आफ्नो पहिलो साङ्गीतिक प्रस्तुतिबाटै अवार्ड जित्न सफल हुनुभएको हो ।
यो अवार्डले आफूलाई साङ्गीतिक क्षेत्रमा अघि बढ्नका लागि महत्त्वपूर्ण सहयोग गर्ने उहाँको विश्वास छ । पुनको दोस्रो साङ्गीतिक कोसेली ‘तिमीलाई हेरि हेरि’ बजारमा केही समय पछि बजारमा आउँदै छ । यस अघिको पहिलो कोसेली तकदिर २–‘म माया गर्छु’लाई दर्शकले रुचाएका थिए ।





-1759842583.jpg)