आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा माघ ६ गते उम्मेदवारी दर्ता गराएका सबै १२ जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । जसमा १२ जनाकै उम्मेदवारी कायम छ ।
सहायक मुख्य निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार उम्मेदवारी दिएका सबै १२ जनाको उम्मेदवारी कायम रहेको र सोही अनुसार नामावली सार्वजनिक गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट जाँच गर्दा सबै उम्मेदवार कानुनी रूपमा योग्य रहेको पाइएको उहाँले बताउनुभयो ।
कानुन बमोजिम कायम रहेका उम्मेदवारको नामावली प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २४ बमोजिम प्रकाशन गरिएको सहायक निर्वाचन अधिकृत शाहीले बताउनुभयो । साथै जिल्लामा मनोनयन दर्ता भएका कोही पनि उम्मेदवार माथि कुनै पनि दाबी विरोध नपरेको उहाँले बताउनुभयो ।
निर्वाचन कार्य तालिका अनुसार माघ ६ गते उम्मेदवारी दिएका उम्मेदवारहरू माथि दाबी विरोधका लागि हिजो माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय दिइएको थियो । जिल्लामा उक्त सममा कुनै पनि उम्मेदवार माथि दाबी विरोध नपरेको शाहीले जानकारी गराउनुभयो ।
निर्वाचन तालिका अनुसार भोली माघ ९ गते उम्मेदवारी फिर्ताको समय छ । भोली नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह दिइने छ । त्यसपछि उम्मेदवारहरूकाे अन्तिम नामावली अनुसार मत पत्र तयार हुने छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि जिल्लामा १२ दलबाट उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्ता गराउनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जनार्दन शर्मा प्रभाकर सहित राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा अनल, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक, नेकपा एमालेका नन्दराम देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का रहनुभएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, नेपाली काँग्रेसबाट राजु केसी, नेकपा माओवादीबाट चन्द्र बुढा, नेकपा संयुक्तबाट शेरबहादुर केसी, उज्यालो नेपाल पार्टीबाट नरेन्द्र केसी र आम जनता पार्टीबाट प्रेमा दमाई नेपालीको उम्मेदवारी परेको छ ।


-1769081615.jpeg)

-1759842583.jpg)