आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा १२ जना बिचमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्य तालिका अनुसार आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि माघ ६ गते १२ वटा दलका तर्फबाट उम्मेदवारी परेको थियो । कार्य तालिका अनुसार आज उम्मेदवारी फिर्ताको समय तोकिएको थियो ।
तर तोकिएको समय भित्र कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि कानुन सम्मत कायम भएका १२ जनाले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जिल्लामा आज तोकिएको समय भित्र कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको जानकारी दिनुभयो । आज उम्मेदवारको अन्तिम नामावली समेत सार्वजनिक गरिएको छ । सहायक निर्वाचन अधिकृत शाहीका अनुसार सम्पूर्ण पक्रिया पूरा गरेर आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो ।
जिल्लामा १२ जना बिचमा प्रतिस्पर्धा हुने निश्चित भएको उहाँले बताउनुभयो । अब यसै अनुसार मत पत्र छापिएर जिल्लामा आउने छ । त्यस्तै जिल्लामा स्वतन्त्र उम्मेदवारी नभएकोले निर्वाचन चिन्ह प्रदान गर्नु नपरहेको र दलका सम्बन्धमा आ–आफ्नो निर्वाचन चिन्ह कायम हुने उहाँले बताउनुभयो ।
जिल्लामा उम्मेदवारी दिएका उम्मेदवार माथि दाबी विरोध समेत परेन । माघ ७ गते दाबी विरोधको समय दिइएको थियो । उक्त समयमा कुनै पनि उम्मेदवार माथि दाबी विरोध नपरेको र अन्य जाँच पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले हिजो माघ ८ गते उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो ।
आगामी फागुन २१ गतेको निर्वाचनका लागि जिल्लामा १२ दलबाट उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्का, नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल शर्मा, नेकपा माओवादीबाट चन्द्रबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनार्दन शर्मा, नेपाल मजदुर किसान पार्टीबाट धनबहादुर बिक र नेकपा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार हुनुहुन्छ ।
त्यस्तै उज्यालो नेपाल पार्टीबाट नरेन्द्र केसी, आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, नेपाली काँग्रेसबाट राजु केसी, नेकपा संयुक्तबाट शेरबहादुर केसी र राष्ट्रिय जनमोर्चाबाट सत्यनारायण श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
अब दलहरू औपचारिक चुनावी प्रचारमा लाग्ने छन् भने मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालय निर्वाचनको तयारीमा जुट्ने छन् । साथै अन्य सरोकारवाला निकायहरू पनि चुनाव सम्बन्धी विभिन्न तयारीमा छन् ।


-1769081615.jpeg)

-1759842583.jpg)