Kakhara सबैको खबर सम्पूर्ण खबर
‘२५ देखि ३० हजार मत ल्याएर जित्छु’

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्मा आफ्नो जित निश्चित रहेको दाबी गर्नुभएको छ । रेडियो सानीभेरीको संवादमूलक कार्यक्रम आजका कुरामा कुराकानी गर्दै उहाँले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा आफ्नो जित निश्चित रहेको दाबी गर्नुभएको हो ।

उहाँले २५–३० हजार मत प्राप्त गर्ने दाबी गर्नुभएको छ । ‘मलाई काँग्रेस, एमाले देखि नेपाली कम्युनिस्ट पार्टीबाट पनि मत आउँछ, मैले २५ देखि ३० हजार मत पाउँछु यो जितका लागि पर्याप्त हुन्छ,’ उहाँले भन्नुभयो । आफूलाई जिल्लाले सर्वस्वीकार्य नेताका रूपमा लिने समेत उहाँको दाबी थियो ।

उहाँले भन्नुभयो–‘मैले जे गरे जिल्लाका लागि गरेँ, यो वा त्यो पार्टी भनेर कहिले पनि हेरिन, यो चुनावका लागि सबै रुकुमेलीले तपाइ नै आउनुपर्छ भनेर भन्नुभयो, मलाई सबैले भोट दिनेछन्, त्यो निर्वाचनले पुष्टि गर्छ, हेर्नुहोला ।’ जिल्लाको विकासका लागि अर्थ राख्ने केही काम बाँकी रहेकोले आफू अन्तिम पटक चुनाव लड्न लागेको पनि उहाँले बताउनुभयो ।

पार्टीकै सरकार हुँदा विभिन्न शीर्षकका योजना कटौती गरिएकाले दुग्ध डेरी, काष्ठ उद्योग देखि उत्पादनसँग जोडिएका अन्य योजना कटौती भएका कारण अहिले जिल्लामा धेरै उद्योगहरू अलपत्र अवस्था रहेको र अब उक्त योजनालाई जसरी पनि सफल पारी छाड्ने उहाँको दाबी छ । साथै उहाँले आफ्नो नेतृत्वमा एकीकृत रुकुम विकासको योजना बनेको र अहिलेको रुकुम सोही अनुसार बनेको बताउनुभयो ।

यो विकास क्रमागत नभई तीव्र गतिको रहेको भन्दै एक दशक अघि नै रुकुमले यो विकास हासिल गरेको उहाँको दाबी छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update