रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा परम्परागत रूपमा लाग्दै आएको पापिनी मेला अन्तर्गत विवाह आज हुँदै छ । आज राती दुई गाउँका किशोरीका बिचमा काल्पनिक विवाह सम्पन्न हुन लागेको हो । साँख गाउँको बिचमा दह छ । यही तल पट्टीको गाउँलाई तलिगाउँ र माथि पट्टीको गाउँलाई माथि गाउँ भनिन्छ ।
यिनै तलिगाउँ र माथि गाउँका किशोरीका बिचमा हरेक वर्ष सबै रित पुर्याएर विवाह गरिदिने प्रचलन रहेको छ । यो विवाहलाई पापिनी विवाह भन्ने गरिन्छ । बेहुला बेहुली दुवै किशोरी हुन्छन् । यो वर्ष तलिगाउँकी दुलही र माथि गाउँका दुलाहा हुने बताइएको छ ।
किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रित अनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रित अनुसार छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ ।
हिजो १४ गते साँझ दुलही माग्न माथि गाउँका तलिगाउँ आएका थिए भने आज साँझ दुलाहा पक्ष बाजागाजा सहित धूमधामका साथ जन्ती लिएर दुलही लिन तलिगाउँ आउने र आजै दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई माथि गाउँका लागि अन्माउने छन् ।
विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ । दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रूपमा सजिएका किशोरीहरूले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसीयालीका रूपमा यो नाच उनै पापिनीहरुले नाच्छन् । लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गर्छ । पापिनी मेलाको प्रमुख आकर्षण मध्येको एक यो नाच पनि हो ।
साँखमा मानव बस्ती सुरु भएदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रही आएको स्थानीय अगुवाहरू बताउँछन् । हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाइरहेका छन् ।
परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ । ‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ । हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन् । १४ गते माग्ने काम सकिएपछि उनीहरू १५ गते बिहेमा सहभागी हुने स्थानीय पूर्णबहादुर बुढाको भनाई छ ।
आज विवाह हुने र भोली मेला लागेर पापिनी मेला औपचारिक रूपमा सकिन्छ ।





-1759842583.jpg)