प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) रुकुम पूर्वका उम्मेदवार सन्दीप पुनले कार्य योजना–पत्र सार्वजनिक गर्नु भएको छ । आज जिल्लाको सिस्ने गाउँपालिका–५ रुकुमकोट स्थित कमल दह परिसरमा प्रलोपाका उम्मेदवार पुनले आफ्नो चुनावी कार्य योजना–पत्र सार्वजनिक गर्नुभएको हो ।
पुनले पहिलो प्राथमिकतामा जनतासामु सत्य बोल्ने विषयलाई राख्नुभएको छ । भाषणका लागि राजनीति नगर्ने, जनताको पीडा बुझेर समाधान गर्ने उहाँको प्रतिबद्धता छ । झुटा आश्वासन नदिई जनताको निगरानीमा जनप्रतिनिधिले काम गर्ने विधिको विकास गर्ने उहाँको कार्य योजनामा उल्लेख छ ।
यसै गरी जिल्लाको दुर्गमता अन्त्य गर्न सडक पहुँच विस्तारलाई अर्को प्राथमिकतामा राखिएको छ । जसमा राष्ट्रिय लोक मार्गलाई पूर्णता दिने र हाल विस्तार भएका सडकलाई स्तरोन्नति गर्ने, झोलुङ्गे पुल, सडक पुललाई प्राथमिकता दिने उल्लेख छ ।
तेस्रो प्राथमिकतामा ऊर्जा राखिएको छ । त्यस्तै कृषि र वन, खानी, उद्योग, युवा नीति, शिक्षा, स्वास्थ्य, पर्यटन, शहीद, बेपत्ता, घाइतेका लागि कार्यक्रम, सुशासन र सामाजिक न्याय, सञ्चार र प्रविधि, वैचारिक प्रतिविद्धतालाई पनि प्राथमिकतामा राखिएको छ । बुँदागत रूपमा उम्मेदवार पुनले आफूले गर्ने विकासको मोडेलबारे स्पष्ट पार्नुभएको छ ।
उम्मेदवार पुनको अध्यक्षतामा भएको कार्य योजना–पत्र सार्वजनिक कार्यक्रममा प्रलोपाका केन्द्रीय सदस्य विजय केसीको प्रमुख आतिथ्यता रहेको थियो । सहिद पुत्र पुन फागुन २१ गते हुने निर्वाचनमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कार्यक्रममा उम्मेदवार पुनले आफ्नो जीत निश्चित रहेको दाबी गर्नुभयो ।
जिल्लावासीमा जिल्लाकै उम्मेदवारले गर्छन् भन्ने भावना रहेको र जिल्लाको विकासका लागि आफू योग्य उम्मेदवार रहेको भन्दै उहाँले आफ्नो जीत निश्चित रहेको बताउनुभयो । साथै उहाँले आफू सहिद पुत्र रहेकोले पनि जनयुद्धका सहिद परिवार, घाइते, अपाङ्ग तथा बेपत्ता परिवारको प्रतिनिधि रहेको भन्दै यो पनि जीतको आधार रहेको बताउनुभयो ।





-1759842583.jpg)