Kakhara सबैको खबर सम्पूर्ण खबर
रास्वपा रुकुम पश्चिमको सङ्कल्प: गाँजा खेतीलाई वैधानिकता दिने देखि हाइड्रोजन उत्पादनसम्म

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरेर सङ्कल्प पत्र सार्वजनिक गरेको छ । आज मुसिकोटको शेरिगाउँमा पत्रकार सम्मेलनको आयोजना गरी रास्वपाका रुकुम पश्चिम उम्मेदवार मानबहादुर शाहीले भिजन ट्वान्टी ययर्स नामक सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको हो । 

रास्वपाले जिल्लाका समस्यालाई समेटेर सङ्कल्प पत्र तयार पारेको छ । रुकुम पश्चिमलाई राष्ट्रिय विकासको केन्द्र बनाउन सकिने सम्भावना रहेको र सोही अनुसार सङ्कल्प पत्र तयार पारेको उम्मेदवार शाहीले जानकारी गराउनुभयो । स्रोत साधनमा आधारित दिगो विकास, कृषि, पर्यटन र पूर्वाधारको एकीकृत मोडल, रोजगारी सहितको आर्थिक समृद्धि, सुशासन, पारदर्शिता र सामाजिक न्याय पार्टीको दृष्टिकोण रहेको उहाँले बताउनुभयो । 

त्यस्तै आत्मनिर्भर स्थानीय अर्थतन्त्र, समावेशी र न्यायपूर्ण समाज तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य जिल्लाका प्रमुख आवश्यकता रहेको र यसैका आधारमा सङ्कल्प पत्र निर्माण गरेको शाहीको भनाई छ । सङ्कल्प पत्रमा विद्यालयमा राजनीतिक गतिविधि पूर्ण रूपमा निषेध गर्दै शैक्षिक संस्थाहरूलाई अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने, शिक्षकहरूको तलब सबैभन्दा बढी बनाउँदै सम्मानित पेसाको रूपमा स्थापित गर्ने विषयलाई प्रमुखताका साथ राखिएको छ । 

सानीभेरी र ठुली भेरी नदीबाट जलविद्युत उत्पादन गर्न अध्ययन सुरु गर्ने, स्यार्पू तालबाट हाइड्र्रोजन र विद्युत् उत्पादन गर्न अध्ययन सुरु गर्ने, सल्ले विमानस्थल विस्तार गर्ने र नियमित गर्ने, चौरजहारी विमानस्थलको स्तरोन्नति गर्ने, भारत–नेपाल–चीन जोड्ने भेरी कोरिडोरलाई पर्यटन मार्फत आर्थिक कोरिडोरको रूपमा विकास तथा विस्तारमा द्रुत गति दिने सङ्कल्प पत्रमा भनिएको छ । 

रास्वपाले रिम्नामा त्रिकोणात्मक झोलुंगे पुल सहित पक्की पुल निर्माण गर्ने, डिग्रे शाइकुमारी मन्दिर जोड्ने बाटो कालोपत्रे गर्ने, विद्युतीय सवारीमा जोड दिने, जिल्लाका हरेक ग्रामीण सहरहरूमा द्रुत गतिको इन्टरनेट विस्तार गर्ने, सम्पूर्ण सरकारी सेवालाई अनलाइन प्रणालीमा लैजाने, नमुना एकीकृत कृषि आयोजनाहरू सुरु गर्ने पनि योजना बनाएको छ । 

रास्वपा रुकुम पश्चिमका उम्मेदवार गाँजा खेतीलाई वैधानिकता दिन कानुन निर्माणमा पहल गर्ने समेत योजना तयार पार्नुभएको छ । जिल्ला गाँजा उत्पादनका हिसाबले उर्वर निकै अनुकूल रहेको भन्दै उम्मेदवार शाहीले कृषि औषधीय तथा औद्योगिक प्रयोजनका लागि कडा नियमन सहित गाँजा खेती र उपयोगको नीति बनाउन पहल गर्ने सङ्कल्प पत्रमा उल्लेख छ । आफूले गाँजाका विषयमा अध्ययन समेत गरिरहेको र आफू गाँजा खेतीलाई वैधानिक बनाउनुपर्छ भन्ने पक्षको अभियन्ता समेत रहेको उम्मेदवार शाहीले बताउनुभयो । 

रुकुमका किसानको आम्दानी दोब्बर बनाउने र जिल्लालाई कर्णालीको कृषि केन्द्र बनाउने, ठुली दह, साँख दह र स्यार्पू ताललाई वैज्ञानिक अध्ययनका आधारमा पर्यटकीय हबका रूपमा विकास गर्ने, चौरजहारीमा निर्माणाधीन नयाँ सहर आयोजनालाई आधुनिक स्मार्ट सिटीका रूपमा तीव्र रूपमा विस्तार गर्ने, जिल्लाका विभिन्न ग्रामीण बजारलाई ग्रामीण सहरका रूपमा विकास गर्ने योजना समेत रास्वपाको सङ्कल्प पत्रमा समेटिएको छ । 

स्वदेशमै रोजगारी सिर्जना गर्ने, खाना बैङ्क, कपडा बैङ्क सञ्चालन गर्ने लगायतका योजना सार्वजनिक गर्नुभएका रास्वपा रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्यका उम्मेदवार शाहीले यी योजनाको कार्यान्वयनका लागि आफूले निर्वाचन जितेमा आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । जिल्लाको बृहत्तर विकासका लागि आफूले तयार पारेका यी योजना कार्यान्वयनको विकल्प नभएको र आफूले निर्वाचन नजिते पनि कोही न कोहीले यो गर्नै पर्ने बताउनुभयो ।

सङ्कल्प पत्र सार्वजनिक कार्यक्रममा रास्वपाका समानुपातिक उम्मेदवार प्रेमबहादुर बोहराको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update