रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले नगरका पूर्व कर्मचारी असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहबाट आफूले १ लाख सापटी लिई फिर्ता गरिसकेको स्पष्ट पार्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै नगर प्रमुख वादीले आफू काम विशेषले पोखरा गएको बेला २०८० साउन ८ गते व्यक्तिगत आवश्यकताका मोहन शाहबाट १ लाख सापटी लिएको र पछि उक्त रकम नगद फिर्ता गरिसकेको बताउनुभएको छ ।
शाहले मोबाइल बैङ्किङ मार्फत आफ्नो खातामा १ लाख राखिदिएको र आफूले मोबाइल बैङ्किङ नचलाउने भएकोले सो रकम केही दिनमै नगद फिर्ता गरेको स्पष्ट पार्नुभएको छ । उहाँले समस्या परेको बेला लिएको सापटीलाई शाहले घुस भनी दुःख दिने प्रयास गरेको बताउनुभएको छ ।
‘मैले अहिलेसम्म व्यक्तिगत रूपमा मोबाइल बैङ्किङ सेवा प्रयोगमा ल्याएको छैन । त्यसैले मोबाइल बैङ्किङसँग सम्बन्धित देखाइएका विवरणहरूलाई तोडमोड गरी दुःख दिने प्रयास भएको देखिन्छ । घर व्यवहारका रूपमा गरिएको सामान्य ऋण सापटीलाई व्यक्तिगत रिसिइबि साध्ने उद्देश्यले दुरुपयोग गर्नु अत्यन्त निन्दनीय कार्य हो,’ उहाँले भन्नुभएको छ ।
शाहसँग करार सम्झौता नवीकरणका लागि भनेर कुनै पनि रकम नमागेको उहाँले दाबी गर्नुभएको छ । बरु शाहको कार्यसम्पादन राम्रो नभएकोले नगर कार्यपालिकाले करार म्याद थप नगरेको नगर प्रमुख वादीले जानकारी गराउनुभएको छ ।
‘नगर कार्यपालिकाको मिति २०८० असार २५ गतेको बैठकबाट करार कर्मचारीहरूको म्याद थप गर्ने निर्णय भइसकेको थियो । सोही निर्णयअनुसार २०८१ असार र २०८१ पुस मसान्तमा समेत थप दुई पटक म्याद थप गरिएको थियो । पछिल्लो समय प्रदेश लोकसेवा आयोगबाट स्थायी प्राविधिक कर्मचारीहरूको व्यवस्था भइसकेको तथा सम्बन्धित कर्मचारी मोहन शाहले आफ्नो परिवारको व्यवसाय (निर्माण फर्म सञ्चालन)लाई प्राथमिकता दिँदै कार्यालयको जिम्मेवारीमा कमजोरी देखाएको, सेवाग्राहीबाट पटक पटक गुनासो आउने कार्य गरेको कारण २०८२ असार २७ गतेको कार्यपालिका बैठकबाट करार म्याद थप नगर्ने निर्णय गरिएको हो,’ उहाँले लेख्नुभएको छ ।
यो पनि पढ्नुहोस
यसै पृष्ठभूमिमा करार म्याद थप नभएको व्यक्तिगत रिस, प्रतिशोध तथा उक्साहटमा सापटी स्वरूप लिएको रकमको मोबाइल बैङ्किङ स्क्रिन सटलाई तोडमोड गरी घुस लिएको भनी कपोलकल्पित आरोप लगाई उजुरी दर्ता गरिएको भन्दै नगर प्रमुख वादीले असहमति प्रकट गर्नुभएको छ ।
उहाँले आफ्नो तर्फबाट विभिन्न तथ्यहरू समेत पेस गर्नुभएको छ । म्याद थप सम्बन्धी निर्णय २०८० असार २५ गते भइसकेपछि २०८० साउन ८ गते घुस मागिएको भन्ने आरोप स्वयम् विरोधाभासी रहेको, गैर कानुनी कार्यका लागि आफ्नै बैङ्क खाता प्रयोग गर्नु तर्कसङ्गत र सम्भव नभएको, २०८० असारपछि दुई पटक म्याद थप भइसकेको अवस्थामा अन्य कुनै रकम लेनदेन भएको प्रमाण प्रस्तुत नगरिएको उहाँले उल्लेख गर्नुभएको छ ।
त्यस्तै प्रत्येक ६ महिनामा कार्यसम्पादनका आधारमा २ सय भन्दा बढी कर्मचारीहरूको म्याद थप भइरहेकामा कसैसँग पनि रकम मागिएको कुनै प्रमाण भए पेस गर्न चुनौती दिँदै उहाँले आफू सीमान्तकृत (दलित) समुदायबाट निर्वाचित जनप्रतिनिधि भएकोले निर्वाचित भएदेखि नै विभिन्न प्रकारका षड्यन्त्र, दबाब र चरित्रहत्या गर्ने प्रयासहरू हुँदै आएको भन्दै अहिले सोही शृङ्खलाको निरन्तरता भएको र यो केवल आफ्नो व्यक्तिगत नभई समग्र दलित समुदायको सम्मानमाथि प्रहार रहेको टिप्पणी गर्नुभएको छ ।
उहाँले आफूले न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान व्यक्त गर्ने बताउँदै अदालतबाट सत्य तथ्य उजागर भई न्याय प्राप्त हुने र आफू विरुद्धको षड्यन्त्रको पर्दाफास हुने पूर्ण विश्वास समेत व्यक्त गर्नुभएको छ ।
करार सेवा नवीकरणको लागि घुस लिएको र दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध चैत्र ३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।






-1759842583.jpg)