रुकुम पश्चिमको चौरजहारीमा वृहत् महोत्सव हुने भएको छ । वैशाख १० गतेबाट २३ गतेसम्म वृहत् चौरजहारी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवको पाँचौँ संस्करण हुने भएको हो । एक प्रेस नोट जारी गर्दै आयोजक सहिद स्मृति कला सांस्कृतिक संरक्षण मञ्चले महोत्सव आयोजना बारे जानकारी गराएको छ ।
उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष वीरेन्द्र विकले जानकारी दिनुभयो । साथै महोत्सवमा स्थानीय मौलिक नृत्यहरूको प्रस्तुति, रोटे पिङ, भेरी पुल, फोटो प्रदर्शनी लगायतका आकर्षण रहने उहाँले जानकारी गराउनुभएको छ ।
त्यस्तै १५० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन् भने स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने उहाँको भनाई छ । कला, संस्कृति, पर्यटन तथा व्यापार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने उद्देश्यले निरन्तर महोत्सव आयोजना गर्दै आएको र यस वर्ष पनि महोत्सव आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
यस वर्ष रुकुम पश्चिममा कुनै महोत्सव आयोजना भएका छैनन् । अघिल्ला वर्षहरूमा जिल्लाका विभिन्न ठाउँहरूमा महोत्सवहरू आयोजना हुने भए पनि यस वर्ष भने महोत्सव हुन सकेका छैनन् ।।





-1759842583.jpg)