Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी महोत्सव सुरु, आज कमल बिसी 'माल्दाइ'काे प्रस्तुति रहने 

रुकुम पश्चिमको चौरजहारीमा पाँचौँ वृहत् चौरजहारी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सवको शुक्रवार रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले उद्घाटन गर्नुभयो । महोत्सव सहिद स्मृति कला सांस्कृतिक संरक्षण मञ्च चौरजहारीले आयोजना गरेको हो । 

महोत्सव उद्घाटन कार्यक्रममा उद्घोषक शान्तराम सेन्चुरुले प्रस्तुति राख्नुभएको थियो भने स्थानीय मौलिक नाचहरू समेत प्रस्तुत गरिएको थियो । हिजोबाट सुरु भएको महोत्सव वैशाख २४ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवमा पल शाह, दुर्गेश थापा, प्रकाश दुतराज, प्रकाश सपुत, बद्री पंगेनी, पुष्कल शर्मा, शान्तिश्री परियार, समीक्षा अधिकारी, रचना रिमाल, एलिना चौहान लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने महोत्सव व्यवस्थापक एलबि कटुवालले जानकारी दिनुभयो । 

उहाँका अनुसार महोत्सवमा स्थानीय मौलिक नृत्यहरूको प्रस्तुति, रोटे पिङ, जलपरि, भेरी पुल, फोटो प्रदर्शनी लगायतका आकर्षण रहने छ ।  त्यस्तै १५० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन् भने स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने उहाँको भनाई छ ।

महाेत्सवमा आजबाट कलाकारहरुकाे प्रस्तुति रहने कटुवालले बताउनुभयाे । आज पछिल्लाे समयका चर्चित गायक कमल बिसी 'माल्दाइ'काे प्रस्तुति रहने उहाँले बताउनुभयाे । साथमा अन्य कलाकारहरुकाे समेत प्रस्तुति रहने बताइएकाे छ ।

कला, संस्कृति, पर्यटन तथा व्यापार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले निरन्तर महोत्सव आयोजना गर्दै आएको र यस वर्ष पनि महोत्सव आयोजना गर्न लागेको आयोजकले जनाएको छ । महोत्सवको संरक्षकमा चौरजहारी नगरपालिका रहेको ५ ।

महोत्सव उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेल, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राणा, चौरजहारी नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्का, चौरजहारी नगर विकास समितिका पूर्व अध्यक्ष ज्ञानु बुढाथोकी, नेपाली काँग्रेस जिल्ला सदस्य एवम् सङ्गठन विभाग प्रमुख यदुकुमार आचार्य, नेपाल तरुण दलका केन्द्रीय सदस्य जितेन्द्र बुढाथोकी, चौरजहारी नगरपालिका वडा नम्वर ७ का पूर्व वडा अध्यक्ष इन्द्रलाल शर्मा लगायतको आथित्यता रहेको थियो ।

आयोजक समितिका अध्यक्ष वीरेन्द्र विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डिल्ली शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update