रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जारी महोत्सवको मिति थप भएको छ । शहीद स्मृति कला सांस्कृतिक संरक्षण केन्द्रद्वारा वडा नम्बर २ को रङ्गशालामा वैशाख १० गतेबाट जारी पाँचौँ वृहत् चौरजहारी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८३ वैशाख २८ गतेसम्म थप भएको हो ।
महोत्सव यसअघि वैशाख १० गतेबाट २३ गतेसम्म सञ्चालन गर्ने गरी नगरपालिकाले अनुमति दिएको थियो । अविरल बर्सात तथा हावाहुरीको कारण महोत्सव प्रभावित भएकाे भन्दै आयोजकले म्याद थपका लागि नगरपालिकामा निवेदन दिएको थियो ।
जसअनुसार नगरपालिकाले वैशाख २८ गतेसम्मको म्याद थप गरिदिएको महोत्सव व्यवस्थापक एलबि कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकुल मौसमका कारण महोत्सव प्रभावित हुँदै आएको छ । प्रतिकुल मौसमले गर्दा महोत्सव नियमित रूपमा सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।
महोत्सवमा हालसम्म नायक पल शाह, गायिका ज्योति मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राखिसकेका छन् । अझै पनि महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति बाँकी रहेको उहाँको भनाई छ ।
त्यस्तै महोत्सवमा १ सय बढी व्यापारिक स्टल सहित मनोरञ्जनका विभिन्न साधन रहेको आयोजकले जनाएको छ । महाेत्सवमा भाेली कलाकार गंगु क्षेत्रीकाे प्रस्तुति रहेकाे बताइएकाे छ ।





-1759842583.jpg)