रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ लागि नीति तथा कार्यक्रम पारीत गरेको छ । असार १० गते नगर सभामा पेश गरिएको उक्त नीति तथा कार्यक्रम सोही दिन नै सर्वसम्मत पारी भइसकेको छ । नगरप्रमुख तथा सभाध्यक्ष देविलाल गौतमले ल्याएको नीति, कार्यक्रम अन्तर्गत कृषि नीतिमा ‘आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म’ मुल नारा तय गरिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा भर यसै नारामा केन्द्रीत भएर कार्यक्रम गरिने नीतिमा उल्लेख छ । नगरपालिका क्षेत्रमा कम्तिमा २ रोपनी जग्गामा व्यवसायीक तरकारी खेती, फलफुल र उन्नत जातको बीउ विजन उब्जाउने कृषकलाई एकमुष्ट अनुदान र प्रोत्साहन दिने कार्यक्रम सञ्चालन गर्ने योजना नगरले बनाएको छ ।
कृषि व्यवसायमा निरन्तर संलग्न किसानहरुलाई उच्च सम्मान स्वरुप कृषक पेन्सन प्रोत्साहन खाता कोषको संचालन स्थापना गरी संचालन गर्ने, व्यावसायिक रुपमा खेती गर्ने कृषक, कृषक समुह, कृषक सहकार्य समुह र कृषि फर्म तथा सहकारीहलाई ‘नगर प्रमुख कृषि प्रोत्साहन’ कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रम राखिएको छ ।
‘पौरखी हातहरुलाई सरकारको साथ’ नारालाई आत्मसात गर्दै सहकारी समूहमा आवद्ध जीवनभर कृषि पेशा गरेका कृषकहरुले उत्पादन गरेको परिमाणको आधारमा विशेष प्रोत्साहन दिइने, निरन्तर कृषि पेशा व्यवसायमा संलग्न किसानहरुलाई प्रोत्साहन गर्न ‘किसानको बारीमा नगर सरकार’ कार्यक्रम सञ्चालन गर्ने नीति बनाइएको छ ।
‘बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग’ भन्ने सोँचका साथ बाँझो जग्गामा खेतीका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, खेती योग्य सिचाई सुविधा नपुगेको जमिनमा सिचाई सुविधाको लागि साना सिचाई तथा सहकारी सिचाई कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम गर्ने गरी नगर सभाले नीति तथा कार्यक्रम पारीत गरेको छ ।


                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    


-1759842583.jpg)