Kakhara सबैको खबर सम्पूर्ण खबर
गोपाल शर्माको गौरवपूर्ण जीत

गोपाल शर्मा 'अनल' जसले रुकुम पश्चिममा विजयको झन्डा गाड्नुभएको छ । जनार्दन शर्मालाई पटक पटक संसद्मा पुर्‍याउन चुनावी कमान्डरको नेतृत्व गरेका उनै गोपाले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनार्दन विरुद्ध नै जीत हासिल गर्नुभएको छ । यस पटक फरक पार्टीबाट निर्वाचन लड्नुभएका जनार्दन गोपालका निकटतम प्रतिद्वन्द्वी पनि हुनभएन । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपालले २१ हजार ६ सय ९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका राजु केसी १६ हजार ६ सय ६१ मत ल्याएर दोस्रो हुनुभयो । १४ हजार ३ सय ४६ मत प्राप्त गरेका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा तेस्रो हुनुभयो । 

जनार्दन शर्माले नयाँ पार्टी निर्माण गरेर विचार छाडेको भन्दै रुकुम पश्चिमका कम्युनिस्ट विरासत आफूले जोगाउने मुख्य एजेन्डा सहित गोपाल निर्वाचनमा होमिनुभएको थियो । अन्ततः शर्माले यस पटकको निर्वाचनमा जीत पक्का गर्नुभयो । सङ्घीय संसद्मा उहाँको पहिलो पाइला भए पनि उहाँसँग संसद्को अनुभव भने छ । उहाँ २०७४ को निर्वाचनमा रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर ख बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सोही कार्यकालमा उहाँ २०७८ को जेठमा आन्तरिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । प्रदेशको अनुभव हासिल गरिसकेका शर्मा अव सङ्घीय संसद्मा देखिनुहुने छ । 

२०४३ साल पुस १२ गते साबिकको विजयश्वरी गाउँ विकास समितिको लहरेसिमल गाउँमा आमा कस्तुरा ढकाल र बुवा परमानन्द ढकालका कान्छा पुत्रका रूपमा उहाँको जन्म भएको थियो । स्नातक तहको शैक्षिक योग्यता हासिल गर्नुभएका शर्मा २०४६ सालमा १२ वर्षको उमेरमै अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध हुनुभएको थियो । २०५३ सालमा उहाँ विद्यार्थी सङ्गठनको जिल्ला अध्यक्षको जिम्मेवारीमा पुग्नुभएको थियो । २०५४ मा विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य बन्नुभएका उहाँ २०५५ मा तत्कालीन नेकपा माओवादीको जिल्ला सदस्य हुनुभयो । 

२०५६ देखि २०६० को बिचमा उहाँ विद्यार्थी सङ्गठनको केन्द्रीय उपाध्यक्ष बन्नुभयो । २०५७ सालमा पार्टीको आधार इलाका विशेष उपक्षेत्रीय ब्युरो सदस्य बन्नुभएको थियो । २०५८ देखि २०६२ सम्म उहाँ क्षेत्रीय ब्युरो भेरी–कर्णाली बाँके–बर्दिया इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो । २०६२ मा उहाँ रुकुम फर्किनुभयो । २०६२ मै उहाँले जिल्ला सेक्रेटरी, जिल्ला इन्चार्ज र अध्यक्ष भएर पटक पटक काम गर्नुभयो । उहाँ २० वर्षको उमेरमै विद्यार्थी सङ्गठनको केन्द्रीय उपाध्यक्ष र २२ वर्षको उमेरमा केन्द्रीय उपाध्यक्ष हुनुभएको थियो ।

उहाँ जिल्ला इन्चार्ज हुँदा मात्र २४ वर्षको हुनुहुन्थ्यो । पार्टीमा उहाँ २०७३ मा पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारीमा पुग्नुभयो । २०७५ मा तत्कालीन नेकपाले केन्द्रीय सदस्यको जिम्मेवारी दिँदा उहाँले उक्त पद छाडेर अरूलाई राख्न भन्नुभएको थियो ।

उनै शर्मा अब भने प्रतिनिधि सभा सदस्यमा देखिँदै हुनुहुन्छ । रुकुमका अधुरा विकासलाई पूरा गर्ने जिम्मेवारी उहाँको काँधमा आइपुगेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update